आम आदमी पार्टी पञ्जाबमा विजयी


दिल्लीनजिकैको पञ्जाब प्रान्तका जनताले अरविन्द केजरीवालको ‘दिल्ली मोडल’ लाई रुचाएका छन् । दिल्लीका मुख्यमन्त्री केजरीवाल र उनले दिल्लीमा लिएको विकास तथा सुशासनको मोडलमाथि पञ्जाबी नागरिकले मतदानमार्फत भरोसा देखाएका हुन् ।

पञ्जाबको चुनावमा ‘दिल्ली मोडल’ को एकदम धेरै चर्चा थियो । त्यो चर्चामा मात्रै सीमित रहेन, मत परिणामले विश्वासमै बदलिएको देखायो । पञ्जाबमा आम आदमी पार्टीले अपार बहुमतका साथ सरकार बनाउने निश्चित देखिएको छ । अपरान्हसम्म आएको मत परिणामअनुसार १ सय १७ सिटको विधानसभामा ९१ सिटमा आपले अग्रता लिएको छ ।
अहिलेको सत्तारुढ दल कांग्रेस १७, अकाली दलको गठबन्धन ६, भाजपासहितको गठबन्धन २ र अन्य १ स्थानमा अगाडि छन् । आपका कार्यकर्ता सडकमा आएर खुसियाली मनाउन थालेका छन् ।

लगातार दोस्रो चुनावको प्रयासपछि आपले पञ्जाबमा एकतर्फी जित हासिल गर्दैछ । यसअघि सन् २०१७ को चुनावमै पञ्जाबमा आपको लोकप्रियता चुलिएको थियो । तर, मतपरिणाम आपको पक्षमा आएन । तर, पहिलो प्रयासमा २० सिट ल्याएर आप प्रमुख प्रतिपक्षी दल बनेको थियो ।

अन्ना हजारेको सामाजिक आन्दोलनको सक्रिय कार्यकर्ता रहेका केजरीवालले सन् २०१२ को नोभेम्बर २६ मा आम आदमी पार्टी गठन गरेका थिए । उनले पार्टीको नाम नै साधारण मानिसलाई छुने गरी राखे । त्यति मात्रै होइन, पार्टीको नाम जस्तै उनले आफ्नो बोलीचाली, रहनसहन र पहिरन सधैं आम मानिसकै जस्तो राखे ।

उनी कहिले पनि सुट लगाएको वा अन्य नेताहरुले लगाउने कुर्ता पाइजामा, इस्टकोटलगायतका पहिरनमा देखिएनन् । औपचारिक कार्यक्रमहरुमा पनि साधारण ‘लुक र स्टाइल’मा उपस्थित हुनु उनको पहिचान बनेको छ । लगातार तेस्रो पटक दिल्लीको मुख्यमन्त्री छन् । दिल्लीका सडक, विद्यालय र स्वास्थ्य पूर्वाधारमा बदलाव देखिन्छ, तर उनको जीवनशैली भने उस्तै छ । यही शैली नै पञ्जाबका नागरिकले पनि मन पराइदिएका हुन् ।

राजनीतिक दल स्थापना गरेको १० वर्षमै दिल्लीपछि पञ्जाबमा उनले पकड जमाएका छन् । केजरीवालले आप स्थापना गरेको एक वर्षमै सन् २०१३ को डिसेम्बरमा दिल्ली विधानसभा चुनाव भएको थियो ।

दिल्लीका जनताले पहिलो चुनावमै उनलाई रुचाए । तर, थोरै सिटले उनको बहुमत पुगेन । ७० मध्ये २८ सिट ल्याएका केजरीवाल कांग्रेसको समर्थनमा मुख्यमन्त्री भए ।

भ्रष्टाचारविरोधी आन्दोलनकै क्रममा वाचा गरेको ‘जनलोकपाल विधेयक’ विधानसभामा टेबल गर्न नसकेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनले तत्कालीन राज्यपाल नजीव जंगसमक्ष विधानसभा भंग गर्न सिफारिस गरेका थिए । त्यसयता आपले दिल्ली विधानसभाको दुईवटा चुनावमा दुई तिहाईभन्दा बढी मतको बहुमत ल्याइसकेको छ ।

दिल्लीमा लगातार ८ वर्ष मुख्यमन्त्री रहेका केजरीवालमाथि अहिलेसम्म कसैले भ्रष्टाचारको आरोपसमेत लगाउन सकेका छैनन् । उनले विकास निर्माणका लागि योजनाहरुमा हुने खर्चलाई धेरै प्रतिशतले घटाएका छन् ।
केजरीवालले दिल्लीमा देखाएको इमानदारिताले पञ्जाबी जनताको मन जित्न सफल भएको छ ।