एक्लै भिड्दा निर्वाचनमा कसैको पनि बहुमत आउँदैन : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै निर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताएका हुन ।

‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो रु तपाईंहरूलाई थाहै छ,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ ।’

नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको बताए । ‘म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ ।

वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइनँ । मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ,’ देउवाले भने, ‘अहिले परिस्थिति बद्लिएको छ । डरत्रास हटेको छ । लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त भएको छ ।’

प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारहरूलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको बताए । ‘विशेषगरी हाम्रो पार्टीको उदेश्य भनेकै नेपालमा प्रजातन्त्र र लोकतन्त्रलाई स्थायी गराउने हो ।

सबै जनताको अधिकारहरूलाई ग्यारेण्टी गर्ने हाम्रो उदेश्य हो । यो उद्देश्यमा गठबन्धनका सबै साथीहरूले स्वीकार गरेर म प्रधामनन्त्री भएको हुँ,’ उनले भने, ‘यो गठबन्धन सरकारकै उपलब्धि हो ।’ आगामी निर्वाचनमा अहिले सत्तामा भएका दलहरुबीच तालमेल गरेर निर्वाचनमा जाने तयारी भएको छ ।