अनुमति विना भारतीय सवार हेलिकप्टर बझाङमा बस्यो


बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो ।

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन् । ‘हामी कसैलाई हेलिकप्टर आउने जानकारी नै थिएन । हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेका थिए,’ थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले बताएका छन् ।

प्रहरीलाई खबर गरेका थियौँ, प्रहरी पुग्नुअघि नै उनीहरु उडेका हुन । हेलिकप्टरमा चालकसहित पाँच जना भारतीयमूलका नागरिक रहेको उनले बताए। ‘हिन्दी बोलिरहेका थिए । साथमा नक्सा पनि बोकेका थिए,’ वडाध्यक्ष जोशीले भने, ‘उनीहरु करिब आधा घण्टा बसेपछि गए।’

हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ छ । हेलिकोप्टरको विषयमा सोधीखोजी भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल बताउँछन् ।

‘हेलिकप्टरमा को, किन आए भनेर खुलेको छैन । हामीलाई कुनै पूर्व जानकारी पनि नभएकाले थप जानकारी लिने प्रयास भएको बताएका छन् ।