रुकुम पूर्वको बुर्केसल्ला जङ्गलमा दर्जन बढी सकेट बम भेटियो : डिस्पोज गर्ने तयारी


काठमाडौं, फागुन २७। रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम भेटिएको छ ।कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो । वडाध्यक्ष जीवन केसीका अनुसार हिजो दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए ।

वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि टोली खटिएको थियो । जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै रहेको हुनसक्ने प्रहरीको अनुमान छ । सकेट बम रहेको ठाउँमा निगरानी गरिएको र आज बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।