ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : पाँचथरबाट दमकल मगाइयो


काठमाडौं, फागुन २७। ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेतिर आगो लागेको हो । आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उनले बताए ।

‘बीच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ प्रजिअ पोखरेलले भने । ताप्लेजुङ हरेक वर्ष आगलागीको चपेटामा पर्दै आएको छ । गत वर्ष फागुन १८ गते दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका थिए । अर्को दमकल पाँचथरबाट पनि मगाइएको  पोखरेलले जानकारी दिनुभयो ।