भन्सार विभागले शनिवार भोली हुने भनिएको परिक्षा स्थगित भएको आज एक सूचना निकाली जनाएको छ । उच्च अदालत पाटनले फागुन २८ गतेको लागि तय भएको भन्सार एजेन्टको लिखित परीक्षा रोक्न अन्तरिम आदेश बिहिबार दिएको थियो ।
उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो ।
क्रिष्टिना थैवले भन्सार विभागले प्रकाशित गरेको सूचना समावेशी नभएकाले परीक्षा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेकी थिइन् । सो को सुनुवाई गर्दै अदालतले ‘भन्सार एजेन्टको दरखास्त आह्वान गर्दा नेपालको संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सूचना निकाल्नु पर्नेमा सो बमोजिम प्रकाशित भएको नेदेखिदा भन्सार एजेण्टको परीक्षा दुवै पक्ष बीच छलफल नभए सम्मलाई स्थगित गर्नु’ भन्ने आदेश दिएको हो । अदालतले चैत्र ६ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
भन्सार विभागले भन्सार एजेण्टको परिक्षा फागुन २८ गते दिउँसो २ बजे हुने गरि तय गरेको थियो । विभागले ४५ वटा परीक्षा केन्द्र तोकेको थियो । विभागले हरेक परिक्षा केन्द्रमा २०० विद्यार्थी रहने तय गरेको थियो । एउटा केन्द्रमा भने २२३ विद्यार्थी रहने तय भएको थियो । दोहोरो आवेदन दिएका १८ जना आवेदकको आवेदन विभागले रद्द गरेको थियो । यस हिसाबमा कुल ९ हजार २३ जना परीक्षार्थी कायम भएका थिए।
विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो । सुरुका दिनमा परिक्षा तोकिएको भएपनि कोरोना महामारीका कारण समयमै परिक्षा सञ्चालन हुन नसकेको हो ।