एमसीसी परियोजनाको लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान हुदै


प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाका लागि अन्तराष्ट्रिय रुपमा बोललपत्र आहवानका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने भएको हो ।

जसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहन प्रधानमन्त्री देउवाले आग्रह गरेका हु्न् । ‘एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ ।

तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागि हुन पाउछन् तयार रहनुस्’ देउवाले भने ।

योसँगै प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारेका छन् ।

शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ एफक्यानको निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । संसदबाट आमोदन भएको पत्र नेपाल सरकारले एमसीसीको अमेरिकामा रहेको केन्द्रीय कार्यालयमा अर्थ मन्त्रालय मार्फत पठाइसकेको छ ।