गौर–चन्द्रनिगाहपुर सडकखण्डमा बम आकृतिको संकास्पद वस्तु फेला


काठमाडौं, फागुन २८। रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सडकबीच भागमा बम आकृतिको संकास्पद वस्तु फेला परेको छ ।जिल्लाको चन्द्रपुर नगरपालिकाको मोथियाहीमा राजमार्गको बिचमा माथिबाट टायल्सले थिचेर तल कपडाको टालोले बेरेर राखिएको अवस्थामा संकाष्पद वस्तु राखिएको छ । बिहानै राजमार्गको बिचमा उक्त वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवतजावत बन्द गरेको छ ।

सो राजमार्ग भएर गुड्ने सवारीहरुलाई बेतौना हुँदै डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञान बहादुर माझीले बताए । संकास्पद वस्तु हेर्नको लागि स्थानीयको भिड लागेको छ । उनीहरुलाई सुरक्षाकर्मीले बार लगाएर टाडै रोकिराखेका छन् । संकास्पद वस्तु के हो ? र, कसले राखेको हो अहिलेसम्म नखुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । उनले वस्तु बम रहेको नरहेको भन्ने बारे यकिन हुन नसकेको र नेपाली सेनाको बम डिष्पोजल टोलीलाई खबर गरिसकेको बताए । जिल्ला सदरमुकाम गौरबाट नेपाली सेनाको बम डिष्पोजल टोली हिडिसकेको जनाइएको छ ।