जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका लागि आज मिति तोकिने


काठमाडौं, फागुन २९। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियाेगबारे छलफल हुने दिन र समय तोक्नुहुनेछ ।

जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमा ९५ जना सांसदहरूले समर्थन जनाएका छन् । प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसदमा अवरोध गरिरहेको एमाले पनि सहभागी भएको छ । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परिसक्नुभएको छ ।

संसद्को आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले (सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८) पेस गर्ने सम्भावित कार्यसूची पनि छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ । अन्यथा, सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान छ । सभामुखले भने अवरोधकै बीच बैठकका काम कारबाही अघि बढाउँदै आउनुभएको छ ।