सिरहामा भारतीय कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते


काठमाडौं, फागुन ३०। सिरहामा सोमबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मृत्यु हुनेमा धनुषा कमला नगरपालिका-१ का २२ वर्षीय धीरज मण्डल छन्। उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए।

चोहर्वाबाट सिरहा आउँदै गरेको बिआर०७ एएम ३०६३ नम्बरको कार राति करिब १०:५० बजे नरहा गाउँपालिका-३ खोरियाटोलमा दुर्घटनामा परेको थियो। कार आफैं अनियन्त्रित भएर पल्टिएको बुढाथोकीले बताए। घाइते हुनेमा धनुषा कमल नगरपालिका-१ कै २० वर्षीय शुभलाल मण्डल, २२ वर्षीय रोशनलाल मण्डल र ७ वर्षीय आयुष मण्डल छन्।

शुभलालको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र अन्य दुई जनाको चोहर्वाकै अस्पतालमा उपचार भइरहेको बुढाथोकीले बताए। चालक फरार रहेको बुझिएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।