रुस र युक्रेनबीचको वार्ता आज पनि हुने


काठमाडौं, चैत्र ०१। रुस र युक्रेन युद्धकाबीच साेमबार सुरु भएको चौथो चरणको वार्ता आज (मंगलबार) पनि हुने भएको छ । दुई देशबीच जारी युद्धकाे अन्त्यका लागि पटक-पटक वार्ता हुँदै आएको छ । साेमबारको वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न नसकेका कारण आज पुनः वार्ता हुन लागेको हो । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले यही मार्च २४ देखि थप ३० दिनका लागि देशमा सैन्य कानून लम्ब्याउन माग गर्नुभएको छ ।

यता युद्ध अन्त्यका लागि वार्ता चलिरहेकै बेला रूसले युक्रेनका विभिन्न शहरमा आक्रमण जारी राखेको छ । युक्रेनका उपप्रधानमन्त्री इनि भेरेस्चुकले जारी युद्धकाबीच साेमबार मात्रै ४ हजार मानिसलाई उद्धार गरिएको भन्दै रुसी सेनाले किएभ शहरमा अन्धाधुन्ध आक्रमण गरेको बताउनुभएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले युक्रेनमा मानविय सहायताका लागि ४ करोड डलर दिने घोषणा समेत गरेको छ । उता, अमेरिकाले रुसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ ।