काठमाडौंमा लुटेको २२ तोला सुन र नगदसहित दाङबाट पक्राउ परे युवक


काठमाडौं, चैत्र ०१। काठमाडौंमा लुटेको सुन र एक लाख नगदसहित प्रहरीले एक युवालाई दाङबाट नियन्त्रणमा लिएको छ। चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटपाट भएको थियो। लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका ८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंहलाई सुन र नगदसहित प्रहरीले पक्राउ गरेको छ। सिंहलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताए।

सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको प्रहरीको भनाइ छ। डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार काठमाडौं महानगरपालिका ७ स्थित चाबहिलमा एक जना सुन व्यवसायी पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा सिंहसहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए। गत फागुन २५ गते लुटपाटपछि सिंह लुक्न दाङ आएको सूचनाका आधारमा उनको खोजि गरिएको थियो।