सर्लाहीको नवलपुर सबस्टेसन उद्घाटन, विद्युत् खपत बढाउन ऊर्जामन्त्री भूसालको आग्रह


सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका– १ नवलपुरमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसनको उद्घाटन भएको छ। सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आमनेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग–कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत् खपत बढाउन आग्रह गरिन्।

तराई तथा मधेस क्षेत्रमा सिँचाइमा विद्युत् खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरू विस्थापित गर्न आग्रह गरिन्।

‘अहिले हामी वार्षिक दुई खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, विद्युतको प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौँ, बाँझो खेत नराखौँ,’ उनले भनिन्, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौँ। ’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेस प्रदेशको विद्युत् आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आमघरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताए।

यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो। ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो। नवलपुर सबस्टेसनबाट सीधै विद्युत् आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्ने र विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय हुने प्राधिकरणले बताएको छ।