बैंकले ऋण प्रवाहमा कडाई गरेपनि घरजग्गा कारोवारमा २५ प्रतिशतले बृद्धि


वित्तीय प्रणालीमा तरलता अभावकै बीचमा घरजग्गा कारोबारमा भने उछाल आएको छ । माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार २५ प्रतिशतले बढेको छ ।बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा कर्जा लगानी घटाएपनि किनबेच भने बढेको हो ।

एकातिर लगानीयोग्य रकमको अभाव र अर्कातिर र ब्याजदर वृद्धिको चुपुवामा परेको भएपनि फागुनमा देशभर ७४ हजार ३६ घरजग्गा किनबेच भएका छन् । यो संख्या माघको तुलनामा साढे १४ हजार ५२० ले बढी हो । माघमा ५९ हजार ५१६ घरजग्गा किनबेच भएका थिए ।

धितो बन्धक र फुकुवा बढ्यो

बैंकले कर्जा प्रवाह गर्न नसकेपनि फागुनमा धितो बन्धक र फुकुवा बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुनमा देशभर ३६ हजार ५७२ घरजग्गा धितो बन्धकका रुपमा राखिएको छ भने २४ हजार ७४९ घरजग्गा फुकुवा भएका छन् ।

माघमा ३० हजार ९८५ घरजग्गा धितो बन्धक राखिएको थियो भने १८ हजार ६७६ घरजग्ग फुकुवा भएका थिए ।

बैंकले ऋण लगानी गर्दा ऋण लिने व्यक्तिको घरजग्गा धितो बन्धक राख्छन् । ऋण चुक्ता गरेपछि धितो बन्धक राखेको सम्पत्ति फुकुवा गरिन्छ ।

कारोबारमा सुनसरी अगाडी

फागुन महिनामा देशभरबाट १ लाख ६२ हजार ६७८ सेवा प्रवाह भएको छ । सबैभन्दा बढी घरजग्गा कारोबार सुनसरीको इनरुवा मालपोतबाट भएका छन् । इनरुवा मालपोतबाट फागुनमा ३२ सय ८६ घरजग्गा किनबेच भएका छन् ।

दोस्रो बढी किनबेच गराउनेमा मोरङको बेलवारी मालपोत रहेको छ । बेलवारीबाट २८ सय ७२ घरजग्गा किनबेच भएका छन् । झापाको भद्रपुर मालपोबाटमा २७ सय ७२, दमकबाट १४ सय ७५, मोरङको बिराटनगरबाट १५ सय ७८, सप्तरीको राजविराजबाट १४ सय ६४, धनुषाको जनकपुरबाट २४ सय ९८, महोत्तरीको जलेश्वरबाट १२ सय ६४ घरजग्गा किनबेच भएका छन् ।

काभ्रेबाट १९ सय ३०, ललितपुरको लगनखेलबाट २१ सय ६७, भक्तपुरबाट १ हजार ३६, कलंकीबाट १८ सय ३२ घरजग्गा किनबेच भएका छन् । त्यस्तै मकवानपुरबाट १७ सय २२, पर्साबाट १३ सय ८१, चितवनबाट १७ सय ५८, रुपन्देहीको भैरहवाबाट ११ सय ४८, दाङको तुलसीपुरबाट १४ सय, बाँकेको नेपालगञ्जबाट २४ सय ४९ र रुपन्देहीको बुटवलबाट १३ सय ८० घरजग्गा किनबेच भएका छन् ।

राजश्व पनि बढ्यो

फागुन महिनामा घरजग्गा किनबेचसँगै राजश्व संकलन पनि बढेको छ । फागुनमा रजिष्ट्रेशन शुल्क, पूँजिगत लाभकर लगायत विभिन्न शिर्षकमार्फत ६ अर्ब २६ करोड राजश्व संकलन भएको छ । माघ ५ अर्ब ५० करोड मात्रै राजश्व उठेको थियो ।

फागुनमा रजिष्ट्रेशन शुल्कवापत ३ अर्ब ७८ करोड र पुँजीगत लाभकरवापत १ अर्ब ४४ करोड राजस्व उठेको छ । सेवा शुल्कवापत २३ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।