रुसद्वारा अमेरिकी राष्ट्रपतिसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध, युक्रेनमा मानवीय संकट चुलिंदै


काठमाडौं, चैत्र ०२। अमेरिकी राष्ट्रपति जो बाइडेनसहित शीर्ष १३ अधिकारीहरू विरुद्ध रूसले प्रतिबन्धकाे घोषणा गरेको छ । युक्रेनमाथि युद्ध प्रवेश गरेपछि रूसविरुद्ध अमेरिकाले कैयौं प्रतिबन्ध लगाएको बदलामा रुसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्धकाे घोषणा गरेको हो । रूसको विदेश मन्त्रालयका अनुसार प्रतिबन्ध सूचीमा राष्ट्रपति बाइडेन, विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोइड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र सीआईए प्रमुख विलियम बर्न्स लगायत विरुद्ध लागूभएको छ ।

अमेरिकाका अन्य अधिकारीहरू पनि यो प्रतिबन्धबाट प्रभावित हुने रूसले जनाएको छ । युक्रेनमाथि हमला गरेपछि रूसविरुद्ध अमेरिका र पश्चिमा मुलुकहरूले दर्जनौं प्रतिबन्ध लगाएका छन् । रूसी सरकारी अधिकारीहरू, कम्पनीहरू र अर्बपतिहरू विरुद्ध प्रतिबन्ध घोषणा भएको छ । अमेरिकाले रूसबाट हुने तेल आयातमा पनि रोक लगाएको छ । पश्चिमा मुलुकले धम्की दिईरहदा रूसले पनि प्रतिबन्धका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय अमेरिकी डलरसम्म पुग्ने चेतावनी दिएको छ ।