पार्टीमा पदका लागि झगडा गर्न हुन थाल्यो : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताए ।

‘पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दो छ । अराजकता, गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ’, आक्रोशित भावमा प्रचण्डले भने, ‘यही पार्टी हो जहाँ युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो ।’

नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिप्रति प्रचण्डले आक्रोश पोखेको एक नेताले बताए । ‘अनौठो लाग्छ तिनै साथीहरू अहिले पद र पैसा नपाउँदा अर्कै ढङ्गले व्यवहार गर्छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

क्रान्तिकारी पार्टी निर्माण र रूपान्तरणको प्रक्रिया सुरु भएको भनिए भनिएपनि वास्तवमा त्यस्तो हुन नसकेको प्रचण्डको भनाइ थियो । क्रान्ति र रूपान्तरणको कुरा फगत उपदेशजस्तो भएको प्रचण्डले बताए । ‘क्रान्ति र रूपान्तरणका निम्ति कुनै उल्लेख्य सुधार नभएर औपचारिकताका लागि थेगो जस्तो भएको छ’, उनले भने ।

संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको गुनासो थियो । क्रान्तिको कुरा गरिरहेपनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको प्रचण्डको भनाइ थियो ।

सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीमा पनि यस्तो समस्या देखिएको उल्लेख गर्दै प्रचण्डले पछि माओले फरक ढङ्गले क्रान्तिलाई अगाडि बढाउँदा सफलता मिलेको र माओवादी पनि सच्चिन जरुरी रहेको धारणा राखे ।