होलीमा कडा सुरक्षा चेकजाँच


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले होलीको समयमा ट्राफिक व्यवस्थापन र होली विशेष सुरक्षा योजना बनाएको बताएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट चेकिङ गर्न ३ सय ट्राफिक प्रहरी खटाइने जोशीले बताए ।

ट्राफिक चेकजाँच समेत बढाइएको उनले बताए। भोलि बिहिबार काठमाडौं उपत्यकामा ६८ ठाउँमा चेकिङ हुने उनले बताए। ‘एसपीकै कमान्डमा ३ सय जना प्रहरी खटिन लागेको हो,’ उनले भने, ‘भोलि पहिले भएका चेकिङ स्पटहरू त हुने नै भयो।त्यसबाहेक थप ६८ ठाउँमा विशेष ट्राफिक चेकिङ हुनेछ। लागुऔषध सेवन गरेर, ट्राफिक नियमहरू उल्लंघन गर्लान् भनेर त्यसमा ध्यान दिएका हौं।’

त्यस्तै, उच्छृंखल गतिविधि गरे सवारी साधन वा मानिसलाई नै पनि केही घण्टा होल्ड गर्ने सकिने उनले बताए। महानगरीय अपराध महाशाखाबाट पनि एक सयभन्दा बढी सादा पोशाकमा खटाइने भएको हो । ४४ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल ९सिआरभी० र ७९ वटा मोटरसाइकल गस्ती समेत गरिने प्रहरीले जनाएको छ।

केही ठाउँमा साइकल गस्ती समेत गर्ने प्रहरीको तयारी छ।यसबाहेक पनि लापर्बाही हुनसक्ने भन्दै सामुदायिक टोलीले माइकिङ, ब्यानरहरूको माध्यमबाट जनचेतना फैलाउने कामहरू पनि गर्ने प्रहरीको तयारी छ। प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न अनुरोध गरेको छ।