फेरि बढ्न थाल्यो कोरोना, दक्षिण कोरियामा थपिए एकैदिन चार लाख संक्रमित


काठमाडौं, चैत्र ०३। कोरोनाभाइरसको संक्रमण फेरि संसारभरि बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना संक्रमण ह्वात्तै बढेको बताएको छ। अघिल्लो साताको तुलनामा गत साता (मार्च ७-१३) मा संसारभर कोरोना संक्रमण ८ प्रतिशतले बढेको छ। यो अवधिमा एक करोड १० लाख नयाँ संक्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनएको छ।

सबैभन्दा बढी संक्रमण चीन र पूर्वी एसियाली मुलुकमा फैलिएको छ। प्रशान्त महासागर क्षेत्रका मुलुकहरूमा संक्रमण दर २५ र मृत्युदर २७ प्रतिशतसम्मले बढेको छ। अफ्रिकामा १२ र युरोपका २ प्रतिशतले संक्रमण बढेको छ। अहिले सबैभन्दा धेरै संक्रमित दक्षिण कोरियामा थपिइरहेका छन्। वर्ल्डोमिटरका अनुसार बिहीबार त्यहाँ चार लाख बढी मानिसमा संक्रमण थपिएको छ भने १६४ जनाले ज्यान गुमाएका छन्। युरोपेली मुलुक जर्मनीमा पनि बिहीबार पौने तीन लाख कोरोना संक्रमित थपिएका छन्। फ्रान्समा दैनिक संक्रमित १ लाख पुग्दा बेलायत, इटाली, नेदरल्यान्ड्समा पनि दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्।

चीनमा पनि पछिल्लो समय संक्रमित ह्वात्तै बढेका छन्। शून्य कोभिड नीति लिएको चीनले कोरोना बढेको व्यापारिक केन्द्र सेन्जेन र उत्तरपूर्वी सहर जिलिनमा कडा प्रतिबन्धहरू लगाएको छ। डब्लुएचओले फेरि बढेको कोरोनाले जटिल समस्या ल्याउन सक्ने भन्दै देशहरूलाई चनाखो हुन भनेको छ। ‘कतिपय देशहरूले परीक्षण नै कम गरेको बेला यति धेरै संक्रमित थपिनुले ठूलै खतराको संकेत गरेका छन्,’ डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन्। पछिल्लो समय संसारभर धेरै देशहरूमा प्रतिबन्धहरू फुकुवा गरिएको र जनजीवन सामान्य भएकालेओमिक्रोन भेरियन्ट र यसको सबलिनेज बिए.२ का कारण संक्रमण बढेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ। केही विज्ञहरूले युरोपमा फेरि कोरोनाको अर्को लहर आउने चेतावनी दिएका छन्।