बैंकको ब्याजदर नियन्त्रण गर्न अर्थमन्त्री शर्माको दवाव


अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि बैंकहरुलाई दवाव दिन थालेका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको माग अनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताएका हुन् ।

बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन भएको भन्दै अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको बताएका हुन ।

राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको आधार रेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन भन्दै मन्त्री शर्माले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास लिएकाा छन् ।

त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै बिस्तारै सुधार भइरहेको बताए । ‘शोधानान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनको भनाई छ । मन्त्री शर्माले ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी समेत दिएका छन् ।