रुसी सेनाकाे आक्रमणमा परी सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु, ५७ घाइते


काठमाडौं, चैत्र ०६। रुसी सेनाले युक्रेनको एक सैनिक ब्यारेकमा आक्रमण गर्दा सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु भएको आशंका गरिएको छ । युक्रेनको माकोलाइभ शहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा रुसले ३ वटा क्षेप्यास्त्र प्रहार गर्दा सय भन्दा बढी युक्रेनी सेना मृत्यु भएकाे आशंका गरिएको हो । करिब २ सय सैनिक रहेको सो ब्यारेकमा गरिएको आक्रमणमा घाइते भएका ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

रातको समयमा सैनिकहरु सुतिरहेको अवस्थामा रुसले गरेको यो आक्रमण निकै नै कायर रहेको विश्लेषण गरिएको छ । सो ब्यारेकको भग्नावशेषमा कति सैनिक फसेका छन् भन्ने यकिन नभए तापनि उद्धार कार्य जारी छ । युक्रेनका तापक्रम हाल माइनस ६ डिग्री पुगेकै बेला युक्रेनी सेनालाई मौसमका कारण पनि रुसको प्रतिकार गर्न कठिनाई भइरहेको छ ।