रुस र युक्रेन युद्धको चपेटामा एशियाली मुलुक, ४ करोड मानिस गरीबीतर्फ


रुस र युक्रेनकाबीच जारी युद्धको २५ दिन बितिसकेको छ । दुई देशहरुकाबिचको युद्धको असर पुरै विश्वभर देखिइरहेको छ । फेव्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा खाद्य र उर्जाको मूल्यमा भारी बृद्धि भएको छ ।

यसैबीच अमेरिकी थिक ट्यांक सेन्टर फर ग्लोबल डेभलपमेन्टले युद्धका कारण खाद्य र उर्जाको मूल्यमा वृद्धि हुँदा चार करोड भन्दा धेरै मानिस अत्याधिक गरीबीतर्फ उन्मुख हुन सक्ने चेतावनी दिएको छ । सीजीडीले पुर्व सोभियत क्षेत्रको कृषि क्षेत्रकालागि अत्यन्त महत्वपुर्ण रहेको इशारा गर्दै यस्तो बताएको हो ।

गहुँको मूल्यमा वृद्धि

विश्वमा रुस र युक्रेनको २९ प्रतिशत गहुँ उत्पादन हुने गर्छ ।अन्तरराष्ट्रिय बजारमा रुस र युक्रेन युद्धका कारण गहुँको मूल्यमा तिव्र रुपमा बढोत्तरी भइरहेको छ । पछिल्लो केहि दिनमा युद्ध चर्किएसँगै खाद्यका साथसाथै तेलको मूल्य पनि वृद्धि भइरहेको छ । जसकारण गरिबहरुको थाल महंगो भइरहेको छ ।

एशिया युद्धको चपेटामा पर्ने

हाल विश्वभरका मानिसलाई महंगीको डर र चिन्ताले सताएको छ । केहि दिन अघि नोमुराको रिपोर्टमा युद्ध शान्त नभएमा यसको असर सबैभन्दा धेरै एशियामा पर्ने बताइएको छ । सो रिपोर्ट अनुसार एशिया युद्धको चपेटामा पर्दैछ । रुस र युक्रेन युद्धबाट सबैभन्दा धेरै भारत प्रभावित हुने पनि उल्लेख गरिएको छ । अहिले भारतीय बजारमा खाद्य वस्तुहरुको मूल्य बढेको छ ।

तेल,इलेक्ट्रिक सामाग्री र मेशिनरीका साथ मोबाइल, ल्यापटप लगायत अन्य ग्याजेट्सकालागि भारत अन्य देशहरुमा निर्भर छ । अधिकांश मोबाइल र ग्याजेटको आयात चीन र अन्य पूर्वी एशियाका शहरहरुबाट हुने गर्छ जसको कारोबार प्राय डलरमा हुने गर्छ । युद्ध चलिरहँदा रुपैयाँमा यसैगरी गिरावट भइरहेमा भारतमा आयात महंगो पर्नेछ ।

कच्चा तेलको मूल्य वृद्धि

भारतले ८० प्रतिशत कच्चा तेल विदेशीसँग खरिद गर्दछ । यसको भुक्तानी पनि डलरमा हुने गर्दछ र डलर महंगो हुँदा रुपैयाँ धेरै खर्च हुने निश्चित छ । विशेषज्ञहरुका अनुसार युद्ध चर्किरहेमा क्रुड तेलको मूल्य प्रति ब्यारेल १२० देखि १५० डलरसम्म पुग्न सक्दछ । विश्व बजारमा कच्चा तेलको मूल्य एक डलरले बढ्दा भारतमा ५० देखि ६० पैसाले बढ्छ ।
यसरी उत्पादन कम हुने र सप्लाईमा बाधा आएसँगै तेलको मूल्य वृद्धि हुने पक्कापक्की भएको छ । विश्व बजारमा तेलको भाउ प्रति ब्यारेल १५० डलर पुग्दा भरतमा पेट्रोल र डिजेलको भाउ १० देखि १५ रुपैयाँसम्म बढ्न सक्दछ ।

केहि दिनयता कच्चा तेलको मूल्यमा गिरावट आएर प्रति ब्यारेल १०७ डलर कायम रहेको छ । जुन पहिले १३९ डलरसम्म पुगेको थियो । भारतमा खाद्य सामाग्री तथा तेलको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । भारतबाट नै यी वस्तु आयात हुने हुँदा नेपालीहरू पनि महंगीको मारमा पर्ने भएका छन् । यता नेपालमा समेत युद्धको प्रत्यक्ष प्रभाव आर्थिक क्षेत्रमा पर्न गएको छ । – एजेन्सी