लिग टु क्रिकेट : नेपाल-युएई भिड्दै


काठमाडौं, चैत्र ०७। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ। दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो। युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ। आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो।

यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी हो। नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ५ पटक आमनेसामने भएका छन्। जसमा नेपालले २ पटक जित्दा यूएई ३ पटक विजयी भएको छ। लिग टु मा कुल ७ टिम सहभागि रहेका छन्। नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ। यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ।