युक्रेनको मारियोपल शहर नियन्त्रण गर्न रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी


काठमाडौं, चैत्र ०७। युक्रेनको मारियोपल शहर नियन्त्रण गर्न रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेकाे छ । रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनी शहर मारियाेपललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । तर युक्रेनले भने रुसको चेतावनीको बेवास्ता गरेको छ । रुसी रक्षा मन्त्रालयले आत्म समर्पणका लागि गरेको प्रस्ताव युक्रेनले सिधै अस्वीकार गरेको हो ।

आत्मसमर्पण गरेमा स्थानीय समय अनुसार बिहान १० बजेदेखि फसेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान मानवीय सहायता मार्ग खुला गर्ने पनि रुसी रक्षा मन्त्रालयले जनाएको त्यहाँको सरकारी सञ्चार संस्था रियाले जनाएको छ । आत्मसमर्पण नगरे थप ‘सैन्य कारबाही’ भोग्नुपर्ने चेतावनी समेत रुसले दिएको छ । तर युक्रेनले भने आत्मसमर्पणको कुरै नआउने बताएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरिस्चुकले साेमबार सबेरै आत्मसमर्पणको कुरै नआउने बताउनुभएको हो । यसअघि मारियोपलको नगरपरिषदले शहरका हजारौँ मानिसलाई उनीहरुको इच्छा विपरित रुसी सैनिकले रुस लगेको शनिबार आरोप लगाएको थियो ।

मारियोपल शहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । त्यहाँ विद्युत, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन । शहरमा करिब ३ लाख मानिस फसेका छन् । खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावकाबीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको बताइएको छ । रणनीतिक महत्वको शहर नियन्त्रणमा लिने प्रयासमा रुस रहेको छ । शहरका बासिन्दा अधिकांश समय रुसी आक्रमणबाट जोगिन आश्रयस्थल वा बेसमेन्टमा बस्ने गरेका छन् । यसैबीच, युक्रेनी राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले छिमेकी राष्ट्रहरुमाथि युक्रेनी जनता मरेको हेर्न चाहेको आरोप लगाउनुभएको छ । इजरायली संसदलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै जेलेन्स्कीले युद्धको चपेटामा परेको युक्रेनका जनता बाँच्न चाहँदा चाहँदै पनि छिमेकी राष्ट्रहरु भने उनीहरु मरेको हेर्न चाहेको आरोप लगाउनुभयो ।