एमालेका उपाध्यक्ष पौडेलसहित चार नेता चीन जादै


काठमाडौं, चैत्र ०७। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता सोमबार चीन जाने भएका छन्। सोमबार बिहान ९ बजेतिर पौडेलसहित एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगको अध्यक्षमा पुष्प कँडेल र मीना रखाल चीन जान लागेको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए। रिमालले उपाध्यक्ष पौडेलसहितका नेताहरु पाँच दिन चीनमा रहने बताए।

‘चीनको कुन्मिङमा हुने इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन नेताहरु जान लाग्नु भएको हो’ उनले अन्नपूर्णसँग भने। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने चर्चा छ त्यससँग सम्बन्धित रहेर भेटघाट हुन्छ/हुन्न भन्ने प्रश्नमा रिमालले भने,‘मूलत : अहिले गोष्ठीमा सहभागी हुन नेताहरु जानु भएको हो। चीनियाँ नेताको भ्रमणसँग सम्बन्धित रहेर भेटघाटको कार्यतालिका बनेको छैन।

त्यो भ्रमण हुने विषय बेग्लै हो। यो भ्रमण छुट्टै उद्देश्यसहित तय भएको हो।’ स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका अनुसार चीनमा हुन लागेको गोष्ठीमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिए। लामोसमयपछि नेपालबाट शीर्ष नेतासहितको भ्रमण टोली बेइजिङ जान लागेको हो।