श्रीलंकामा चरम आर्थिक संकट, परीक्षाका लागि कागजको अभाब


काठमाडौं, चैत्र ०७। श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेका समाचार सार्वजनिक भएका छन् । आजबाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकालका लागि रद्ध गरिएको श्रीलंकाका अधिकारीहरुलाई उद्धृत गर्दै द गार्जिएनले समाचार लेखेको छ । परीक्षा रोकिंदा लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।

सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब वित्तीय संकटबाट श्रीलंका गुज्रिरहेको छ । वस्तु आयात गर्न डलरको अभाव छ । श्रीलंकाको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ, ‘कागज अभावका कारण टेस्ट परीक्षा लिन कठिन भएको छ । किनभने कागज र मसी आयात गर्ने विदेशी मुद्रा छैन ।’ विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित भएको छ । श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ । इन्धन किन्नेहरुको पनि पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ ।

यसै वर्ष श्रीलंकामाथि करिब ७ अर्ब डलर ऋण तिर्नुपर्ने जिम्मेदारी छ । तर फेब्रुअरी महिनाको अन्त्यसम्म विदेशी मुद्रा भण्डार केबल २.३ अर्ब डलर रहेको समाचार सार्वजनिक भएको थियो । आवश्यक वस्तु खरिदका लागि श्रीलंकासँग विदेशी मुद्रा अभाव रहेको यही तथ्यांकले पनि देखाउँछ ।रुस–युक्रेन युद्धका कारण विश्व बजारमा बढेको महँगीले पनि श्रीलंका थप समस्यामा परेको छ । संकट गहिरिंदै गएपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग आर्थिक सहयोग मागेको थियो ।

आईएमएफले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले मागेको आर्थिक सहयोगमा विचार गरिरहेको जनाएको छ । श्रीलंकाले मुख्य सहयोगी राष्ट्र चीनसँग पनि आर्थिक सहयोग मागेको समाचार सार्वजनिक भएको थियो । आर्थिक संकटमा फसेको श्रीलंकाका लागि भारतले एक अर्ब डलर ऋण सुविधा प्रदान गर्ने घोषणा बिहीबार गरेको थियो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे तीन दिने भ्रमणका लागि बुधबार भारतको राजधानी नयाँदिल्ली आएको बेला सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।