सार्वजनिक यातायातको भाडा ११ प्रतिशतले बढ्ने


सरकारले फेरि सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको छ ।

विभागले यो प्रतिवेदन एक–दुई दिनमै विभागबाट मन्त्रालयमा पेश हुने र भाडा बढाउने निर्णय बताएको छ । संघ सरकारले भाडा बढाएमा प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनुपर्नेछ ।

हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ प्रतिशतसम्म भाडा बढ्न सक्ने देखिएको छ । विभागका अधिकारीले पेट्रोलियम पदार्थको समायोजन गर्दा न्युनतम थ्रेसहोल्ड नाघेमा स्वचालित रुपमा भाडा समायोजन हुने गरी व्यवस्था गर्न प्रस्ताव गरेको छ । त्यसो गर्दा तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने विभागको तयारी छ ।

विभागको यस्तो प्रस्तावमा यातायात व्यवसायी पनि सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार भएको व्यवसायीसँगको बैठकमा सरकारले भाडादर फेरि समायोजन गर्न सहमति जनाएको छ ।

सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिले पनि ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले नयाँ व्यवस्था गर्न प्रस्ताव गरेको हो । डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।

महासंघले विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउँदै पहिलो पटक फागुन २५ र दोस्रो पटक ७ चैतको गतेभित्र मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएको थियो । तर, सरकार भाडा बढाउने प्रक्रिया अघि बढाउन सहमत भएकाले अब समस्या नहुने महासंघका महासचिव सिटौलाले बताए ।