लेटाङमा मंगलबार पनि कर्फ्यू जारी


काठमाडौं, चैत्र ०८। मोरङ जिल्लाको लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

लेटाङ–५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि सो क्षेत्रमा तनाब उत्पन्न भएको छ । लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले विद्यालयमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भिर घाइते प्रहरी जवान श्रेष्ठको मृत्यु भएपछि लेटाङमा निषेधाज्ञा जारी गरिएको हो ।

होलीका दिन होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।