एनआरएनएसंग सरकारले सहकार्य गरी काम गर्न तयार रहेको अर्थमन्त्री शर्माको भनाई


अर्थमन्त्री जनार्दन शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले राजनीतिमा प्रभाव संस्थामा समेत परेको बताएका हुन ।

विधानलाई मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं’ उनले भने, ‘तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’

यस्तै अर्थमन्त्री शर्माले मुलुकमा आर्थिक संकट पर्दा एनआरएनएले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । मुलुकको विकासका लागि गरैआवासीय नेपालीहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रशंसा गर्दै उनले सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन आग्रह गरे । गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको सिप र पुँजी नेपाल भित्र्याउन उनले आग्रह गरे । ‘आफ्नो जन्मभूमिलाई तपाईंहरूले माया गर्नुपर्छ, जति लगानी आउनुपर्ने आएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउनुपर्यो ।’

गैर आवासीय नेपालीहरुले नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै उनले सबैलाई खाता खोल्न आग्रहसमेत गरे । ‘मलाई विश्वास छ तपाईंहरुले १ हजार डलर राखेर बैंक खाता खोलेरमात्रै जानुहुनेछ,’ उनले भने ।