चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्ने


सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। सर्वोच्चले मंगलबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासमा सुनुवाइ तोकेकोमा हेर्न नमिल्नेमा राखेको हो।

शोभराजले उमेरका आधारमा कैद छुट माग गर्दै गत पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनी अहिले जगन्नाथदेवलमा थुनामा छन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाइएको छ।

शोभराजको मुद्दामा पुस ८ मा सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो।