मधेस प्रदेशसभाको बैठक फेरी स्थगित


मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक फेरी पनि स्थगित भएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी दिएका हुन । मधेस प्रदेशसभाको बैठक स्थगित भएको यो चौथोपटक हो ।

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो । फागुन १ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगित गरिएको थियो ।

पटक–पटक बैठक स्थगित भएका कारण प्रदेश सभाले गर्नुपर्ने महत्वपूर्ण कामहरु प्रभावित भएका छन् ।