एमाले केन्द्रीय कमिटी बैठक, स्थानीय तहको निर्वाचनमा केन्द्रित


नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । ११ बजे बबरमहलस्थित एक ब्याक्वेटमा बैठक बस्ने तय भएको हो । दुई दिनसम्म चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ।

जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको पार्टी सचिवालयले जनाएको छ ।

गत चैत ७ को बैठकले सो एजेण्डा तय गरेको हो । सो बैठकमा अध्यक्ष केपी ओलीले आफू नेतृत्वको वामपन्थी सरकारलाई ढालेर नेपाली काँग्रेससँग गठबन्धन गर्न जानेहरूसँग वाम एकता वा तालमेल नहुने स्पष्ट पार्दै एमालेमा प्रवेशका लागि भने अन्य दलका कार्यकर्तालाई ढोका खुल्ला रहेको बताएका थिए ।

बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो । सोही अनुसार एमालेले आन्तरिक तयारी थालिसकेको छ। अर्कोतिर केन्द्रिय स्तरबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय नभएपनि स्थानीय तहमा तालमेलको ठोका भने खुल्ला गरिएको एमालले जनाएको छ ।