पहिरोले डोजर पुरियो


दाङ–सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । सल्यानको कपुरकोट–३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो ।

पहिरोसँगै झरेका ठूला–ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको छ । अहिले सो सडक खण्ड पूर्ण रुपमा बन्द रहेको डिएसपी सुमित खड्काले जानकारी दिए । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

दाङबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने अनुमान प्रहरीले गरेको छ ।