दुर्घटनामा परेको चाइना इस्टर्न विमानको ब्ल्याक बक्स भेटियो


काठमाडौं, चैत्र १०। दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना इस्टर्न विमानको ब्ल्याक बक्स भेटिएको छ। चिनियाँ उड्डयन अधिकारीहरुले दुई दिनको खोजीपछि ब्ल्याक बक्स भेटिएको बताएका हुन्। १ सय ३२ यात्रु सवार विमान दुर्घटनामा परेका कसैलाई पनि अहिलेसम्म फेला पार्न सकिएको छैन। तर दुर्घटनामा परेकाको जिवितै उद्धारको सम्भावना भने कम रहेको अधिकारीहरुले जनाएका छन्।

तीन दिनअघि विमान दुर्घटना भएको स्थलमा ठूलो वर्षा भएर पहिरो जाने जोखिम देखिएपछि खोजी र उद्धार कार्य समेत अवरुद्ध बनेको छ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुर्घटनास्थल भएको क्षेत्रको जमिनमा माटोले धेरै पानी सोसेकाले उद्धारकार्य जटिल बनेको छ। सोमबार चाइना ईस्टर्नको १ सय ३२ जना सवार एमयु-५७३५ विमान दुर्घटनामा परेको थियो। उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैनन्। अनुसन्धानकर्ताहरुले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन्।