रुस युक्रेन युद्धको बाछिटा, उर्जा संकटको संघारमा नेपाल


काठमाडौं, चैत्र ११। रुस र युक्रेनबीच युद्ध भएको एक महिना बितिसकेको छ । यो एक महिनामा युद्धकै कारण थुप्र्रैले ज्यान गुमाए भने यसले पु¥याएको आर्थिक क्षतिको कुनै लेखाजोखा सम्भवै छैन । युद्ध गर्ने मुलुकमा यस्तो क्षति हुनु त अनौठो भएन, युद्धसँग कुनै सम्बन्ध नभएको नेपाल पनि यसको प्रभावबाट अछुतो रहन सकेन । विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव हुँदा त्यसको फाइदा लिन नसकेपनि युद्ध जस्तो गम्भीर अवस्थाबाट भने नेपालमा समेत दीर्घकालीन असर पर्ने देखिन्छ । गत २२ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले एक बक्तब्य जारी गर्दै युक्रेनमाथी सैन्य कारवाही शुरु गरे ।

यी दुई देशका शासकहरु अहिले युद्धलाई आफ्नो पक्षमा पार्न भौतिक अभौतिक सबै खाले रणनीति अपनाइरहेका छन् । तर युद्धसँग कुनै साइनो नै नभएको नेपाल भने अहिले युद्धको असर व्यहोर्न बाध्य छ । रुस र युक्रेनबीचको युद्ध तत्कालै समाधानको दिशामा जाने देखिँदैन । जति जति युद्ध लम्बिँदै जान्छ, त्यसको बाछिटा नेपालमा अझै बढ्र्ने निश्चित छ । युद्धकै बहानामा इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिले यतिबेला आमजनमानस मात्र होइन, उद्योगी, व्यवसायी समेत समस्यामा पर्न थालेका छन् । बिनाकारण नेपाल अहिले चर्को मूल्यमा इन्धन किन्न बाध्य छ । यस्तै पश्चिमा मुलुकहरु यतिबेला युक्रेनको समर्थनमा रहेको र रुसलाई गलाउने नीति अख्तियार गरिरहेका छन् ।

यसका लागि उनीहरु युक्रेनलाई हतियार उपलब्ध गराउने देखि मानवीय सहायताको नाममा ठूलो धनराशी दिन तयार भएका छन् । यसले पनि नेपाल जस्ता मुलुकका नाममा आउने सहयोग कटौती हुने पक्कापक्की छ । यसबाहेक रुस युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा समेत परेको छ । र त्यसको बाछिटा समेत नेपालमा परेको छ । भारतमा विद्युतको मूल्य तीव्र गतिमा आकाशिएको छ । भारतीय बजारमा बोलकबोलमा हुने विद्युत् खरिद–बिक्रीको औसत मुल्य प्रतियुनिट भारु. १५ रुपैयाँ २७ पैसा पुगेको छ ।

यस्तो अवस्थामा विद्युत प्राधिकरणले भारतीय बजारमा भएको विद्युत मुल्य वृद्धिले भारतबाट खरिद हुने विद्युतको औसत मूल्य २५ रुपैयाँ २८ पैसा प्रतियुनिट पुग्ने आँकलन गरिएको छ । भारतले कोइलाबाट ठूलो परिमाणमा उर्जा उत्पादन गर्ने गरेको छ । उर्जा उत्पादनका लागि प्रयोग हुने कोइला उसले आयात गर्ने गरेको छ ।
रुस युक्रेन युद्धकै कारण अन्तर्राष्ट्रिय कोइला बजारमा कोइलाको मुल्य आकासिएसँगै त्यसको प्रत्यक्ष असर भारतीय उर्जा उद्योगमा पर्न पुगेपछि भारतमा विद्युत मुल्य आकासिएको हो ।

नेपालमा यतिबेला वर्षा याममा आन्तरिक उत्पादनले विद्युत पुग्ने भएपनि अधिकांश समय भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ । भारतबाट बिजुली खरिदका लागि नेपालले बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्छ । यही क्रममा नेपालले बिहीबार भारतीय उर्जा विनिमय बजारको ९६ वटा ब्लकमा गरेको आवेदनबाट जम्मा १२ वटा युनिटमा मात्रै बिजुली हात पार्न सक्यो ।

भारतीय उद्योगहरुले विद्युतका लागि बढी मूल्य तिरेकाले नेपालले तिर्न चाहेको मूल्यमा विद्युत खरिद गर्न पाएन । आवश्यक परिमाणमा बिजुली नपाएकाले नेपाल विद्युत प्राधिकरण अहिले अधिकांश उद्योगहरुमा अघोषित लोडसेडिङ गर्न बाध्य भएको छ । लोडसेडिङको अवस्था हटाउनकै लागि अब प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा खरिद गर्ने भएको छ ।

नेपालले भारत सरकार अधिनस्थ विद्युत व्यापार निगमसँग २ सय २० मेगावाट बिद्युत नियमित रुपमा खरिद गर्नेगरि सम्झौता गरेको भएपनि पछिल्लो अबस्थामा विद्युतको मूल्य महँगिएको भन्दै भारतीय संस्थाले नेपाललाई विद्युत उपलब्ध गराएको छैन । भारतीय उपक्रम एनभीभीएनले प्रतियुनिट भारु. ४ रुपैयाँ १२ पैसा र पीटीसीले भारु. ४ रुपैयाँ १६ पैसामा नेपाललाई विद्युत् बेचिरहेका थिए । तर, भारतमा विद्युत् महंगिएपछि उनीहरुले नेपाललाई सम्झौता अनुसारको बिद्युत उपलब्ध गराएका छैनन् ।

हालको उर्जा संकट अल्पकालीन जस्तो देखिएपनि बेलैमा यसबारे सोच्न नसके यसको नकारात्मक असरले निरन्तरता पाउन सक्छ । यस्तोमा आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्ने विषयमा विगतमा गरेका गल्तीहरु सुधार गर्न सक्नुपर्छ । विगतमा उर्जा मन्त्रालयले बजारको सुनिश्चितता नभईकन निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता पीपीए नगर्ने अडान लिँदा निजी क्षेत्र निराश छ ।

जडान सम्झौता भइसकेका सौर्य ऊर्जा उत्पादक कम्पनीहरुसँग पीपीए नगरी खुला प्रतिस्प्र्धाबाट मात्र पीपीए गर्ने नीत पारित हुनुले पनि उर्जा प्रवद्र्धनमा अवरोध सिर्जना गरेको छ । यी गल्तीका असर समेत अहिले देखिएको हो । यी र यस्ता आन्तरिक र बाह्य प्रभावहरु परिरहन्छन् । नेपालले यो अवस्थालाई नजर अन्दाज गर्न मिल्दैन । बेलैमा सचेत हुन आवश्यक छ ।