रुस-युक्रने युद्ध : पहिलो चरण युद्धको सकिएको घोषणा, रुसको रणनीति फेरिने संकेत


काठमाडौं, चैत्र १३। एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै अब पूर्वी क्षेत्रलाई ‘मुक्त’ बनाउन केन्द्रित हुने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ। रुसको आक्रमण युक्रेनका केही सहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको छ । तर युक्रेनको बलियो प्रतिवादका कारण रुस अघि बढ्न सकिरहेको छैन ।

‘हाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ,’ रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोईले भने ।‘युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न केन्द्रित हुन सहयोग पुग्छ । त्यो भनेको डोन्बासलाई मुक्त गर्नु हो ।’ उनका अनुसार अब रुसी सैनिकहरूले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्नेछन् ।

पूर्वी युक्रेनको डोन्बास रुसले समर्थन गरेका पृथक्तावादीहरूको बाहुल्य रहेको क्षेत्र हो। रुसी सेनाले किएभमा पनि बमबारी जारी राख्दै राजधानी सहरलाई घेराबन्दी गरिरहेका छन्। रुसी सैन्य अधिकारी रुद्स्कोईले युक्रेनी सेनालाई अन्यत्र अल्झाएर रुस पूर्वमा केन्द्रित भइरहेको बताए । बीबीसी