काठमाडौं, चैत्र १३। निर्वाचन आयोगले स्थानीय तह चुनाव–२०७९ का लागि आज मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागेको अयोगले जनाएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार यसपालि झन्डै एक करोड ७८ लाख मतदाता रहनेछन् । दाबी विरोधपछि झन्डै एक लाख मतदाता सूचीबाट हटेका छन् ।
अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । निर्वाचन आयोगले गएको फागुन १९ गतेदेखि एक हप्ताको म्याद राखेर मतदाता नामावली अद्यावधिक गर्न र त्रुटि भएमा सच्याउन भनेको थियो । नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका नामावली हटाइएको छ । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता थिए । गएको मङ्सिर र पुस महिनामा सञ्चालित मतदाता नामावली विशेष अभियानमा झन्डै १८ लाख जनाले नामावली दर्ता गराएका थिए ।
आयोगले माघ २४ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता कायम भएका १६ वर्ष उमेर पुुगेका नेपाली नागरिकमध्ये वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरिसकेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार दिँदा झन्डै दुई लाख मतदाता थपिँदै छन् । स्थानीय तह चुनावका लागि अब ४७ दिन बाँकी छ ।