इटहरीमा बम विष्फोट हुदाँ दुई जना घाइते


काठमाडौं, चैत्र १५। सुनसरीको इटहरी बजारमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन ।

उनका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो । विष्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ । थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए । विष्फोट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताए ।

संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्नेलगायतका माग राख्दै परिषद् संघर्ष घोषणा गरेको थियो । सोही परिषद्ले झापाको बिर्तामोड र दमकमा बम आतंक सिर्जना गरेको थियो । गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक–५ मा रहेको एक चर्चको गेटमा शंकास्पद बस्तु फेला परेको थियो । सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।