काठमाण्डौको वायु गुणस्तर अस्वस्थकर : मर्निङ वाकमा ननिस्कन आग्रह


काठमाडौं, चैत्र १५। काठमाण्डौमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ । आज काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ । हिजो दिउँसो काठमाण्डौको एक्यूआई १ सय ६७ रहेको थियो । सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।

काठमाण्डौको आकाश आज पनि धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।

विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले प्रदूषण बढेको यो बेलामा श्वासप्रश्वास सम्बन्धी रोग खोकी, दम तथा मुटुका बिरामी अझ बढी प्रभावित हुने गर्छन् । केहीदिन सकेसम्म मर्निङ वाक नगर्न पनि विभागको आग्रह छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

एक्यूआई इन्डेक्सका अनुसार आज बिहान साढे सात बजे भारतको दिल्ली सहर सबैभन्दा प्रदूषित छ । दिल्लीकाे एक्यूआई २ सय २१ रहेकाे छ । त्यस्तै दाेस्राेमा पाकिस्तानकाे लाहाेर रहेकाे छ । तेस्राेमा काठमाण्डाै रहेकाे छ । गएको वर्ष देशका पाँच सयभन्दा धेरै ठाउँमा एकैपटक लागेको डढेलोका कारण नेपालमा चैत १३ गतेदेखि प्रदूषण उच्च भएको थियो । यो वर्ष पनि अस्तिदेखि फेरि प्रदूषण बढ्न थालेको हो ।