परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, ऊर्जादेखि रामायण सर्किटसम्मका कुराकानी


काठमाडौं, चैत्र १५। परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय समकक्षी डाक्टर एस जयशंकरबीच भेटवार्ता भएको छ । बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठकको क्रममा श्रीलङ्काको राजधानी कोलम्बोमा आज मङ्गलवार मन्त्री खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।

भेटवार्ताबारे ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खड्कासँगको कुराकानी फलदायी रहेको बताउनुभएको छ । कनेक्टिभिटी, ऊर्जा, कृषि र स्वास्थ्यलगायतका विषयमा कुराकानी भएको उहाँले बताउनुभयो । यस्तै रामायण सर्किटको प्रगतिमा ध्यान दिन दुवै देश सहमत भएका पनि भारतीय विदेशमन्त्री जयशंकरले उल्लेख गर्नुभएको छ ।