तनहुँमा इन्धन बोकेको ट्यांकर दुर्घटना, तेल भर्न हानथाप


बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्यांकर तनहुँमा दुर्घटनामा परेको छ । २० हजार लिटर डिजेल बोकेर अमलेखगञ्जबाट छुटेको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा मंगलबार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ ।

सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको ना ८ ख ०३२६ नम्बरको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् ।

बाल्टी र ग्यालिन बोकेर ट्यांकरबाट चुहिएको तेल भर्न मानिसको लाइन लागेको भिडियो सामाजिक सञ्जालनमा भाइरल बनेको छ ।

अति प्रज्वलनशिल पेट्रोलियम पदार्थ संकलन गरिनु जोखिम हुने भन्दै निगमका प्रवक्ता विनितमणि उपाध्ययले तेल नउठाउन स्थानीयलाई आग्रह गरे ।