प्रचण्डको दाबी : माओवादीकै नेतृत्वमा नेपालमा लोडसेडिङमुक्त


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङमुक्त भएको बताएका छन्। राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए।

नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताए।

उनले अथाह उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए। चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे।

सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको समेत बताए।

विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउँदै सबैको सामुहिक प्रयासले मात्र उपलब्धी हासिल हुने उनको भनाई थियो। प्रचण्डकै पहलमा फेरी नेपालको ऊर्जा क्षेत्रलाई सुधारका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निायुक्त गरेका हुन ।