प्रहरीमा १६ वर्ष सेवा गरे पेन्सन पाउने प्रस्ताव


नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । दुवै सुरक्षा संगठनमा प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको गृहमन्त्रालयले जनाएको छ ।
प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ ।

यसका लागि प्रहरी नियमावलीको निमय १३१ मा संशोधन गर्ने तयारी छ ।गृह मन्त्रालयका अधिकारीहरुका अनुसार प्रस्तावमा १६ वर्ष अवधि पूरा भएपछि राजीनामा दिएर जान पाइए पनि पेन्सन चाहिँ २० वर्ष पुगेपछि मात्रै पाइने उल्लेख छ । नेपाली सेनाले पनि यही प्रावधान राखेर सैनिक जवानहरुको पेन्सन अवधि घटाएको थियो ।

विगतमा पनि पटकपटक जवानहरुको पेन्सन अवधि घटाउन माग हुँदै आएपछि आर्थिक भार बढ्ने भन्दै अर्थ मन्त्रालयले रोक लगाउने गरेको थियो । तर अहिले गरिएको प्रस्ताव मध्यमार्गी विकल्प भएकाले अस्वीकृत नहुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अर्थमा पठाइएको प्रस्ताव अनुसार प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्म २० वर्ष र प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्ने भनिएको छ । सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीको जस्तै प्रस्ताव गरिएको छ ।