काठमाडौं, चैत्र १७। जिल्ला अदालत अछामले बलात्कारको झुटा आरोप लगाउने एक युवतीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया युवतीलाई उक्त सजाय सुनाएको हो ।
उक्त युवतीले गत माघ १५ गते घरमा हात माग्न आएका २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते प्रहरीसमक्ष जोहरी दिएकी थिइन् । केही दिन फोनमा कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो । सोही क्रममा घरमा पुगेका उक्त पुरूषले युवतीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए । सोही राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको र किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए । खाटमा बहिनीसँग सुतेकी युवतीले भुइँमा सुतेका पुरूषले तानेर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
तर, पुरूषले राति खाटबाट युवती आफै सँगै सुत्न आएको र पछि सहमतिमा यौन सम्पर्क भएको प्रहरीसमक्ष बयान दिएका थिए । त्यस्तै विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको भन्ने युवतीको बयानलाई अदालतले आधार बनाएको हो । योसँगै बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका उक्त पुरूषलाई सहमतिमा यौनसम्पर्क भएको तर, जबरजस्ती करणी नभएको ठहर गर्दै अदालतले सफाइ दिएको छ ।