दिपेन्द्रको अर्धशतकमा नेपालले पपुवान्युगिनीलाई दियो २०४ रनको लक्ष्य


काठमाडौं, चैत्र १७। दिपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपालले पपुवान्युगिनी (पीएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० मा ७ विकेट गुमाउँदै २०३ रन बनायो । नेपालका लागि दिपेन्द्रले ६६ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।​

दिपेन्द्रलाई नोसाइना पोकानले १९ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । त्यस्तै आदिल अन्सारीले ३१ रनको योगदान गरे । उनले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे । आदिललाई कबुवा मोरेआले एलबीडब्लू आउट गराए । यसै ओभरमा मोरेआले करण केसी र दिलीप नाथलाई क्याच आउट गराएका थिए । नेपालले सातौं ओभरको दोस्रो बलमा नेपालले आफ्नो पहिलो विकेट गुमायो । नेपालका कुशल भुर्तेललाई पीएनजीका रिले हेकुरेले १७ रनमा क्याच आउट गराए ।

नेपाले दसौँ ओभरको चौथो बलमा आफ्नो दोस्रो विकेट गुमायो । नेपालका आसिफ शेखलाई नोरमान भानुवाले ३८ रनमा क्याच आउट गराए ।​ १५औं ओभरको दोस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यललाई रिले हेकुरेले ४१ रनमा क्याच आउट गराए । आजको खेलमा नेपाली टोलीमा आदिल आलमले डेब्यू गरेका छन् । उनी कुशल मल्लको स्थानमा आएका हुन् । आजको खेलमा जित निकाल्दै नेपाललाई एक खेल अगाबै फाइनलमा स्थान बनाउने मौका छ । सिरिजको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।