पीएनजीलाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा


काठमाडौं, चैत्र १७। नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा विहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपाल फाइनल पुगेको हो । योसँगै नेपालले आफ्नो ५० औं टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ । नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । दिपेन्द्र सिंह ऐरी र डेब्यू खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो । नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले । पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए ।

त्यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १÷१ विकेट लिए । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ । मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।