लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं, चैत्र १७। रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहितका २७ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । विद्युतीय सामानहरू खरिद गर्दा खरिद समिति नबनाइ, टेन्डर तथा सूचना जारी नगरि, आफू अनूकलको उपभोक्ता समिति गठन गरी र प्राविधिक नाप/जाँच नगरि भुक्तानी दिएको भन्दै खड्कासहित २७ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सबैलाई अलग–अलग बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । अध्यक्ष खड्कासँग चार करोड २१ लाख सात सय ६ रुपैयाँ बिगो माग गरिएको छ । यस्तै यही मुद्दामा तत्कालीन लेखापाल नोर्बु लामा, राजुप्रसाद न्यौपाने र तत्कालीन प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईं पनि तानिएका छन् । यस्तै आरोप पत्र दारु गरिएकामा केही विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारी पनि तानिएका छन् । उनीहरूलाई पछि छुट्टाछुट्टै बिगो माग गरी मुद्दा दर्ता गरिएको छ ।

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा विद्युतीकरण गर्दा योजना सम्झौताका सर्त, कार्यपालिकाको निर्णय र कानुन विपरीत प्राविधिक मूल्याङ्कन गरेको, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदनविना सामान खरिद–ढुवानी गरी रकम भुक्तानी लिने/दिने गरेको उजुरी आएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।