सेनाको सुरक्षामा नमूना मतपत्र छाप्दै आयोग


काठमाडौं, चैत्र १८। निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय चुनावका लागि नमूना मतपत्र छाप्न सुरू गरेको छ। आयोगको आग्रहमा जनक शिक्षा सामग्री केन्द्रले नमूना मतपत्र छाप्न थालेको छ। नेपाली सेनाको निगरानीमा बिहीबारदेखि नै मतपत्र छपाइ सुरू भएको छ।

परीक्षणका रूपमा मतपत्र छाप्ने काम गरिएको हो।मतपत्र छपाइ स्थलमा सेनाका कर्णेलको नेतृत्वमा एक सय २० जना सेनाले सुरक्षा दिएका छन्। स्थानीय चुनावका लागि दुई करोड मतपत्र छाप्ने आयोगको तयारी छ। चुनावका लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाता छन्।मतदाताभन्दा १५ प्रतिशत बढी मतपत्र छाप्ने आयोगको तयारी छ।

आयोगले राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित स्थानीय चुनावका लागि दर्ता गरिएका सबै दललाई आफ्नै चुनाव चिन्ह दिने भएको छ। साना दललाई जिल्लामा क्रियाशील रहेका आधारमा उनीहरूले प्रयोग गर्ने गरेकै चिन्ह दिन लागिएको छ। सबै दलका चिन्ह र स्वतन्त्र उम्मेदवारका चिन्हसमेत राख्दा मतपत्र ठूलो हुने सम्भावना छ। आयोगले मतदान गर्ने मतपत्र भने वैशाख १५ अघि नै छापिसक्ने र ढुवानी गरिने बताएको छ। सडक नपुगेका ठाउँमा सेनाको हेलिकप्टरबाट मतपत्र लगिनेछ।