आइतबारदेखि सार्वजनिक यातायात र सामान ढुवानीको भाडा बढ्ने


इन्धनको मूल्य निरन्तर उकोलो लागेपनि सार्वजनिक यातायातको भाडा पुनः समायोजन हुने भएको छ । अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजनका लागि बिहिबार मन्त्रीस्तरीय निर्णय गरेसँगै २० गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढ्ने भएको हो ।

सरकारले भाडा नबढाए आफुखुसि भाडा बढाउने यातायात व्यवसायीको चेतावनीपछि सरकारले १५ प्रतिशतसम्म भाडा बढाउने भएको छ । २० गतेदेखि लागू हुने गरीनयाँ भाडा अनुसार सार्वजनिक यातायात तर्फ १० प्रतिशत र ढुवानी तर्फ १५ प्रतिशत बढ्ने छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले भाडा बढाउने सहमति भइसकेको र बिहिबारको बसेको मन्त्रीपरिषद्को बैठकले बढाउने निर्णय गरिसकेको जानकारी दिए ।

उनका अनुसार यातायात विभागमा यातायात व्यवसायी सहितको कमिटिले ११ प्रतिशत भाडा बढाउनुपर्ने भन्दै यातायात मन्त्रालयलाई सिफारिस गरेपनि १० प्रतिशत मात्रै बढेको छ ।