नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने बताएका छन् । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताएका हुन् ।
उनले भने, ‘प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको छ । देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरु गठबन्धन भत्काउन लागेपनि सफल हुँदैनन् । प्रतिगमनलाई परास्त गरेका छौं । अब हामी गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रियाका बिकी काम सक्ने छौं ।’
अध्यक्ष प्रचण्डले माओवादी सकियो भनिए पनि झन् बलियो हुँदै गएको बताए । उनले सबैलाई अधिकार माओवादीले नै दिएको पनि बताए । उनले माओवादीले देशलाई संकटबाट मुक्त गरेको, विकासको थालनी पनि माओवादीले गरेको बताए । उनले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानु पर्ने बताए ।
आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशको आर्थिक ७ प्रतिशत पुगाएको स्मरण गर्दै उनले देशका उत्कृष्ट स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बताए । उनले अबको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रलाई विजय गराउनु पर्ने बताए ।
माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने पनि उनले बताए । स्थानीय तहको निर्वाचन नजिकिएसंगै सबै दलका शिर्ष नेताहरु देश दौडाहामा पुगेका छन् ।