उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै


काठमाडौं, चैत्र २१। त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो ।

नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च लयमा छ । पीएनजीले भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको थियो । मलेसियाले पनि १ खेल जित्दै उति नै अंक बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै नेपालसँग फाइनल भिडन्त पक्का गरेको हो ।

कीर्तिपुरमै अघिल्लो साता भएको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित हुँदै श्रृंखला गुमाएको थियो । त्यसपछि टी-२० मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालल एकदिवसीमा व्यहोरेको हारको बदला लिँदै श्रृंखलाको उपाधि जित्ने लक्ष्यमा छ । हुन त नेपालले टी-२० को दुवै लिग खेलमा पीएनजीलाई हराएर बदला लिइसकेको छ । तर फाइनल खेलमा पनि लिगको लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने नेपालको चाहना छ ।